…अब त के बाँचुला र ?

काठमाडौं । ‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् ।

फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् ।

‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको अनुहारमै पढ्न सकिन्थ्यो ।

१८ वर्षीया कल्पनाका फूलजस्ता सपनाहरू डायलासिसको सकसमा कैद छन् । उनका कल्पनाहरू दुई छाकको अभावमा बरालिएका छन् ।

‘यदि म स्वस्थ भएको भए त यस्तो गर्थे‌ं भनेर कहिल्यै सोच्नुहुन्न ?’ कल्पनाको लागि यो निकै निर्मम प्रश्न हुन सक्छ । उनले नरोकिएको आँसु पुछ्दै कारुणिक सवाल गर्छिन्, ‘देखेको सपना त पूरा हुँदैन भने झन् अर्को सपना देखेर आफूलाई कति दुःखी बनाउनु ?’

हो, कसरी सुन्दर सपनाहरू सजाउन सक्छिन् कल्पनाले ? भक्तपुर सल्लाघारीको यो बन्द कोठामा बिहान-बेलुकी पेटभर खाने रासन छैन । बीचमा दबेको एउटा खाट छ । खाटमाथि खुइलिएको ओछ्यान र विनाखोलको सिरक छन् । एक-दुईवटा कपडा भित्ताको काँटीमा झुण्डिएका छन् र होचो नाम मात्रको टेबलमा ग्यासचुलो छ ।

ग्यास पनि एक महिना पहिले मात्र कल्पनाका बाले भराएका थिए । ‘ग्यास सकिएपछि हामी चिउरा खाएर बस्यौँ । बल्लतल्ल पैसा जुटाएर बाबाले दुई हप्तापछि ग्यास भर्नुभयो’, कल्पनाले सुनाइन् ।

दुईवटा मिर्गौला फेल भएकी कल्पना । महिनामा १० हजार रुपैयाँभन्दा बढीको औषधि नै निल्नुपर्छ । डाक्टरले माछा, मासु, अण्डा बढी खाने सल्लाह दिन्छन् । तर, साढे दुई महिनादेखि उनको मुखमा मासु परेको छैन । बरु कतिदिन भोकै भएको छ उनको पेट । यसअघिका दुई हप्ता त, डायलासिसविनै बाँच्यो उनको शरीर ।

कल्पनाको शरीरले हप्तामा दुईपटक डायलाइसिस माग्छ । आइतबार र बुधबार । अनि महिनामा एकपटक दुई पिन्ट रगत । त्यसका लागि उनी मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर पुग्नुपर्छ । तर, लकडाउनले सवारी ठप्प छ । एम्बुलेन्समा जान पैसा छैन । आइतबार त बाबाले जसतसो लगे । बुधबार उनी अस्पतालसम्म पुग्नै सकिनन् ।

‘एम्बुलेन्सले दुई हजार २५ सय रुपैयाँ लिन्छ । ट्याक्सीमा गए १२ सय रुपैयाँ लाग्छ’, उनले व्यथा सुनाइन्, ‘औषधि खाने पैसा त हुँदैन । त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’

६७ वर्षीय मानबहादुर दुई दिन पैदल हिँडेर सिन्धुपाल्चोकको चौतारा पुगे । गाउँबाट केही पैसा जोहो गरी छोरीको ज्यान बचाउन सकिन्छ कि भन्ने ध्येयले । घर हिँड्नुअघि एउटा ट्याक्सी चालकलाई भनेका थिए, ‘छोरीलाई हस्पिटलसम्म पुर्‍याइदिनुहोला । गाउँबाट फर्केपछि पैसा दिउँला ।’

डायलासिसविना कल्पनाको मिर्गौला मात्र होइन, शरीरका अन्य पार्टपुर्जाको गति धीमा हुन्छ । सुन्निएर शरीर कट्कटी दुख्छ । खुट्टा डेग चल्दैनन् । सास फेर्न गाह्रो पर्छ र पनि यसअघि उनी खपेरै बसिन् ।

‘बाहिरी चोट मात्र देख्छन्, भित्री चोट त कसैले देख्दैन । मेरो मनमा के बितिरहेको होला, मैले कसरी दिनहरू कटाइरहेकी हूँला, आफँै सोच्नुस् न,’ कल्पनाको रुवाइ थामिएको छैन । थामिँदैथामिन्नन् । आँखाबाट आँसुका धारा र मुखबाट काँपेको स्वर निस्कन्छ, ‘डायलाइसिस गरेन भने त बाँच्ने कुनै उपाय नै छैन । अब कसरी बाँचुला र ?’

कल्पनाको घिकिरघिकिर गर्दै बामे सरेको जिन्दगीलाई लकडाउनले झन् डामाडोल पारेको छ । बाँच्ने झिनो आशालाई नै ‘लक’ गरेको छ ।

 

कल्पनालाई सात कक्षा पढ्दादेखि नै रोगले च्यापेको हो । त्यसपछि उनको पढाइमा ब्रेक लाग्यो । स्कुलको पाठ घोक्ने १२ वर्षको उमेरमा उनले औषधि खाने समय कण्ठ पार्नुपर्‍यो । तीन वर्ष त कल्पनाले आफ्नै गाउँ चौतारामा बसेर औषधि खाइरहिन् । त्यसपछि भने औषधिले समेत मिर्गौलालाई धान्न छाड्यो । बाँच्ने एक मात्र विकल्प बन्यो, ‘डायलासिस ।’

दिदीहरूको बिहे भइसकेको थियो । कल्पनाका दाजुभाइ थिएनन् । सेतै कपाल फुलेका बाबाले काठमाडौंसम्म ल्याए । स्याहार गरे । उपचारमा लागिरहे ।

सुरुसुरुमा त डायलासिस पनि पैसा तिरेरै गर्नुपर्ने हुन्थ्यो । एक पटकको २५ सय रुपैयाँ पर्ने । डाक्टरले दिएको प्रेस्किप्सनअनुसार औषधि किन्नैपर्‍यो । काठमाडौंमा कोठाभाडा तिर्नुपर्ने । अनि पेट भर्नुपर्ने । तर, मानबहादुरको कुनै बैङ्कमा खाता र बचत थिएन । ताकि झिक्दै खर्च गर्न पुगोस् । नियमित कुनै आयस्रोत पनि थिएन । अब, उनको लागि अन्तिम उपाय थियो- भएको जायजेथा बिक्री गर्ने ।

 

तर, गाउँको पाखोबारी बेचेर कति नै पैसा आउँछ र ! एक वर्षमै सकियो मानबहादुरको अचल सम्पत्ति । बस्ने एउटा घरसिवाय केही बाँकी भएन ।

यता कल्पनालाई झन्-झन रोगले गाल्दै लग्यो । उनका साथीसँगीहरू सबै टाढा भए । रोगले दिएको पीडा सहँदै जोरपाटीको कोठाभित्रै कैद भइरहिन् कल्पना । एउटा मोबाइल छ । साथी भनेकै त्यही बन्यो ।

‘जब स्वस्थ थिएँ, सबैको प्यारो थिएँ । नसक्ने भएपछि सबैको घृणाको पात्र भइँदो रहेछ । आफ्ना पनि पराइ हुँदा रहेछन्’, कल्पनाका चिसो आँखामा थप आँसु थपिन्छ, ‘बाबाले मागेर हुन्छ कि कसरी हुन्छ, धर्तीमा टेकाइरहनुभएको छ । अब त बुबाआमा पनि बुढो भइसक्नुभयो ।’

हो, कल्पनाको बाबासँग कोठाभाडा बुझाउने रकमसम्म हुन छाड्यो । त्यसपछि उनको रक्तचाप उकालो लाग्यो । पावरवाला चस्मा लगाउदा पनि राम्रोसँग ठम्याउन नसक्ने भए आँखा । वृद्ध शरीरमा मधुमेह थपियो ।

‘मेरै टेन्सनले बाबाले कहिलेकाहीँ त कहाँ हिँडे भन्ने पनि होस पाउनुहुन्न । आमा सधैं रोइरहनुहुन्छ’, कल्पनको स्वर भासिन्छ, ‘अझै दुई चार वर्ष छोरी बाँचेको हेर्ने मन छ, भन्नुहुन्छ बाबा । तर, उपाय केही छैन ।’

उपाय नभएरै चार महिनाको भाडा बुझाउन सकेनन् मानबहादुरले । काठमाडौंमा बनेका घरहरू समाजसेवाका लागि होइनन् । त्यसैले, घरबेटीले मानबहादुरको बाबु छोरीलाई डोरावाट निकालिदिए । एक महिनाको भाडा छुट चाहिँ दिए ।

मानबहादुर सल्लाघारीको आफन्तकोमा शरण लिन पुग्नुको विकल्प रहेन । रोगीका लागि त आफन्त पनि सधै‌ं कहाँ आफ्ना हुन्छन् र ? आफ्नै सन्तानले त उपचार गर्न नसकेपछि बाआमालाई बेडमै अलपत्र पारेर भागेका उदाहरण छन् यहाँ । त्यसैले, एक महिनापछि मानबहादुर आफ्नी छोरी बोकेर सल्लाघारीकै यो डेरामा सरेका हुन् ।

टाउको छोप्ने हुट लगाएकी कल्पना दबेको खाटमाथि पलेटी कसेर बसेकी छिन् । मुखभरी बिमिरा उठेका छन् । समयमा डायलासिस नपाएर पेट फुलेको छ । तर, बाँकी शरीरले गालेको छ । उनको शरीरजस्तै स्वर पनि दबेको छ ।

तीन महिनाअघि यो डेरामा आएसँगै भोक र रोगले झन् दाह्रा गाडेको छ । कल्पनाको कलिलो मस्तिष्कमा पलपल आक्रमण गर्न आउने बज्रपातले आँसुबाहेक अरू केही छाडेर जाँदैन । बुबा बाहिर भएको बेला कल्पना एक्लै कोठमा रोएरै समय कटाउँछिन् । उनलाई संसार उराठ लाग्छ । कोठामा केही भए सकेसम्म खाना पकाउँछिन् । नत्र भोकै बस्छिन् ।

अकस्मात् उडेर आइपुगेको लक डाउनले त कल्पनाको परिवारलाई छियाछिया पारेको छ । कल्पना जबरजस्त बोल्छिन्, ‘खै सबैले राहत आयो भन्छन्, हामीलाई त राहत दिन पनि कोही आउँदैन ।’

कल्पनाको वास्तविकताले बताउँछ की सरकारी राहत पनि हुनेहरूकै भाँडामा पुग्छ । यदि धर्मले व्याख्या गरेजस्तो यो ब्रम्हाण्डमा कुनै नर्क छ भने, कल्पना त्यही नर्कमा छिन् ।

बल्लतल्ल डायलासिस गर्न पुग्यो, डाक्टरको सुझावले झन् फत्रक्कै गल्छन् कल्पना र मानबहादुर । डाक्टरले भनेका छन्, अब डाइलाइसिसले मात्र बाँच्न गाह्रो हुन सक्छ । त्यसैले मृगौला प्रत्यारोपण गर्नतिर लाग्नुपर्‍यो । खान दिने मान्छे त पाउन गाह्रो छ भने कसले देओस् कल्पनालाई मिर्गौला । कसैले दिइहाले पनि प्रत्यारोपणमा लाग्ने खर्च जुटाउने हेउ छैन मानबहादुरसँग ।

बाँच्न गाह्रो छ कल्पनालाई । तर, बाँच्ने रहर मरेको छैन । ‘मान्छेको सबैभन्दा ठूलो रहर नै बाँचेर केही गर्ने हो । कसैलाई पनि यो संसारबाट बिदा भएर जाने मन हुँदैन’, कल्पना फेरि रुन्छिन् । उनी धक फुकाएर चाहिँ कहिले हाँसिन् ? कहिले खुसी भइन् ? उनैलाई थाहा छैन ।