एसइईकाे तयारीमा रहेका विद्यार्थीलाई लुंग्री गाउँपालिकाले दियाे रेडियो

रोल्पा- काेराेना भाइरस (कोभिड- १९)का कारण लकडाउन लम्बिदै गएपछि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन विभिन्न विकल्पहरुको प्रयोग भइरहेका छन्। यस्तै विकल्पको खोजी गर्दै रोल्पाको एक गाउँपालिकाले एसइई दिने विद्यार्थीहरुलाई रेडियो वितरण गरेको छ।

जिल्लाको लुंग्री  गाउँपालिकाले एसइई लक्षित दूरशिक्षा रेडियो कार्यक्रम संचालन गर्ने भन्दै विद्यार्थीहरुलाई रेडियो वितरण गरेको हो। रेडियो वितरणसँगै उक्त गाउँपालिकाले आफ्ना विद्यार्थीहरुलाई लक्षित गरी स्थानीय सामुदायिक रेडियोमार्फत् दूरशिक्षा कार्यक्रमसमेत सुरु गरिसकेको छ। हरेक दिन १ घण्टा अंग्रेजी विषयको दूरशिक्षा रेडियो कार्यक्रम संचालन भइरहेको गाउँपालिकाले जनाएको छ।

एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु लकडाउनका कारण लामो समयदेखि पठनपाठनमा सहभागी हुन नसकेको भन्दै रेडियोमार्फत् दूरशिक्षा कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी  दिए। ‘एसइई  तयारीमा रहेका विद्यार्थीहरुले लकडाउनको समयमा पनि दूरशिक्षामार्फत् पठनपाठन गर्न पाउन भन्ने उद्देश्यले यस्तो कार्यक्रमअघि सारेका हौं,’ अध्यक्ष खड्काले भने।

शैक्षिक सत्र २०७६ को एसइई परीक्षामा लुंग्री गाउँपालिकामा ७ वटा माध्यमिक विद्यालयका ३३५ जना विद्यार्थी सहभागी हुने तयारीमा छन्। परीक्षाको अन्तिम तयारी स्वरुप परीक्षा केन्द्र पुगेका उनीहरु गत चैत्र ५ गते बेलुका सरकारले एसइई परीक्षा स्थगित गरेसँगै घर फर्किएका थिए। कोभिड १९ र यसले सिर्जना गरेको मनोवैज्ञानिक असर तथा लामो समयको लकडाउनले उनीहरुले पठनपानलाई समेत निरन्तरता दिन सकेका थिएनन्। ‘दूरशिक्षाका लागि विद्यार्थीलाई मनोवैज्ञानिक रुपमा तयार गर्न हरेकको हात हातमा रेडियो हस्तान्तरण गरेको हौं,’ अध्यक्ष खड्काले भने।

लकडाउनले विद्यार्थी समूहगत रुपमा हिंडडुल गर्न नमिल्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरुलाई रेडियो हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। समबन्धित विद्यालयका प्रधानाध्यापकहरुले सामजिक दूरी कायम गर्दै उक्त रेडियो हरेक विद्यार्थीको हात हातमा वितरण गरिसकेको गाउँपालिकाले बताएको छ।

जिल्लामा यसअघि सत्प्रयास समूहले समेत ७ वटा रेडियो र युट्यूब च्यानलमार्फत् दूरशिक्षा कार्यक्रम संचालन गरिसकेको छ। अंग्रेजी,  विज्ञान र गणित विषयको उक्त  दूरशिक्षा कार्यक्रममा सत्प्रयास समूहमा आबद्ध युवाहरुले स्वयमसेवी ढंगले संचालन गरेका थिए।