कुशे औँशी विशेष : के हो कुश ? किन र कसरी सुरु भयो धार्मिक अनुष्ठानमा प्रयोग गर्ने चलन ?

भदाै १३। कुश एउटा विशेष किसिमको पवित्र घाँस हो, जुन हिन्दु धमर्मालम्बीहरुले आफ्नो धार्मिक कार्यमा प्रयोग गर्ने गर्छन् । कुशलाई सामान्यतया धार्मिक अनुष्ठान पूजा, यज्ञ तथा पितृको कार्य गर्दा प्रयोग गर्ने गरिन्छ । ब्राह्मणले यसलाई हरदम आफ्नो घरमा राख्ने गर्दछन् र हरेक कार्यको शुद्धीकरण गर्न कुशको प्रयोग गर्ने गर्छन् । संस्कृतमा यसको अर्थ तिखो वा धारीलो भनेर बुझिन्छ।

गरुडदेवले आफ्नी आमा विनतालाई आफ्नी बहिनी कद्रुको दासत्वबाट मुक्त गर्न ल्याएको अमृत कलश कुशको तिखो धारमा राखेका धार्मिक ग्रन्थमा उल्लेख छ। त्यस्तै, सूर्यग्रहणको बेला खानालाई हानिकारक किरणहरुबाट बचाउन कुशले छोप्ने चलन छ।

पुराण तथा उपनिसदमा कुशको अस्तित्व समुद्र मन्थनको बेला भएको मानिन्छ। देवता र असुरबीच मन्थन भइरहेको बेला मधरा पर्वतको तल्लो भागलाई अड्याउने कोही भएन तब भगवान विष्णुले कछुवाको अवतार (जसलाई कुर्म अवतार पनि भनिन्छ) धारण गरी देवता तथा असुरहरुको सहायता गरेका थिए। त्यसैगरी मन्थनकै क्रममा त्यस कछुवाको कपाल समुद्रको किनारसम्म बगेर आएको र त्यो समयसँगै कुश घाँसमा परिणत भएको मान्यता छ। अन्तत जब मन्थनबाट अमृत प्राप्त भयो त्यस अमृतलाई पाउन देवता र असुरबीच तछाड मछाड भयो ।

अमृतको सानो अंश त्यस कुशमा पर्यो र कुशलाई पवित्र बनाउन थप गुणहरू प्राप्त भएको मान्यता छ। त्यसैले, जब पवित्र समारोहको आयोजना गरिन्छ हिन्दुहरुले समारोह परिसर सफा गर्ने गर्दछन् र यस कार्यलाई गर्दा विशेष मन्त्रको उच्चारण गर्ने गरिन्छ जसलाई “शुद्धी पुन्यवाचन“ भन्ने गरिन्छ र सो कार्य गर्दा हातमा कुश र जल लिई त्यस जललाई परिसर वरिपरी छर्ने गर्दछन् ।

साथै, कुशलाई कुशे औँशीको दिन काटे वा संकलन गरेमा यसलाई एक वर्ष सम्म प्रयोग मिल्छ र यसलाई काट्दा विशेष श्लोक वा मन्त्रोच्चारण गर्नु पर्ने र यदि एक ब्राह्मणले सो मन्त्र वा श्लोक उच्चारण नगरी कुश काट्दछ भने त्यो कुशको कुनै कामको नहुने मान्यता छ। यदि यसलाई लामो समय सम्म रखियो र यसलाई काटिएन भने यसमा भएका गुणहरु विलिन हुने गर्दछन् ।