कोरोनाबाट कस्ता व्यक्तिमा मृत्युको सम्भावना बढी हुन्छ ?

कोरोना लाग्नेवित्तिकै यसले सबैमा एकै तरिकाले असर गर्दैन र मर्ने सम्भावना पनि सबैमा एउटै हुँदैन। दीर्घरोगीहरु जस्तैः मुटुरोग, मधुमेह आदि र मोटोपन भएकाहरुमा कोरोना लागेमा मृत्यु हुने सम्भावना बढी हुन्छ।

कोरोनाको संक्रमण जो कसैलाई पनि हुन सक्छ तर यसको असर सबैमा उस्तै भने हुँदैन। कोरोनाको असर दीर्घरोगीहरुमा बढी देखिएको छ, जस्तैः मुटु सम्बन्धी रोगहरु (उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, एथेरोस्क्लेरोसिस आदि), मधुमेह, फ्याटि लिभर आदि। यस्ता रोगहरुबाट ग्रसित बिरामीहरुमा बढी अस्पतालमा भर्ना हुनुपर्ने र मृत्यु हुन सक्ने सम्भावना पनि बढी देखिएको छ ।

इटालीमा कोरोना लागेर मृत्यु हुनेहरुको लगभग ९९ प्रतिशत कोरोनाका बिरामीहरुमा पहिले नै कुनै न कुनै रोग थियो। लगभग १ प्रतिशत बिरामीमा मात्र कोरोना बाहेक अन्य कुनै रोग थिएन। लगभग ५० प्रतिशत कोरोनका बिरामीहरुमा ३ वा ३ भन्दा बढी रोग थिए । ७५ प्रतिशतमा उच्च रक्तचाप, ३५ प्रतिशत मधुमेह थियो । धेरैमा मुटु सम्बन्धी रोग पहिलैदेखि थियो।

चीनमा पनि यस्तै किसिमको रिपोर्ट सार्वजनिक भएको थियो । कोरोनाका बिरामीहरुमा मृत्यु हुन सक्ने सम्भावना मुटुसम्बन्धी रोग लागेकोमा सबैभन्दा बढी १३.२ प्रतिशत, मधुमेहमा ९.२ प्रतिशत, उच्च रत्तचाप भएकोमा ८.४ प्रतिशत, फोक्सोसम्बन्धी रोग लागेकोमा ८ प्रतिशत, क्यान्सर लागेकोमा ७.६ प्रतिशत भने कुनै रोग नलागेकोमा १.४ प्रतिशत मृत्युदर देखिएको छ।


कोरोनाले फोक्सोमा असर पुर्याउने हो, तर फोक्सोकै रोग लागेका बिरामीभन्दा मुटु रोग, मधुमेह र उच्च रक्तचाप भएका बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ।

रोग नलागेकोमा भन्दा रोग लागेकोमा कोरोनाको कारणले मृत्यु हुन सक्ने सम्भावना बढेर जाने त भइनै हाल्यो । तर, यसमा बुझ्नु पर्ने कुरा के छ भने कोरोनाले फोक्सोमा असर पुर्याउने हो, तर फोक्सोकै रोग लागेका बिरामीभन्दा मुटु रोग, मधुमेह र उच्च रक्तचाप भएका बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले मार्च ३१ मा यस्तै किसिमको रिपोर्ट सार्बजनिक गरेको थियो। जसमा दीर्घ रोग भएकाहरुमा कोरोनाको कारणले हुन सक्ने र स्वास्थ्य समस्याको जटिलता बढेर जाने भनेर उल्लेख गरिएको छ । यस्तै रिपोर्ट चीन र इटालीबाट पनि आइसकेको छ ।

७ हजार कोरोना बिरामीमा हेरिएको उक्त रिपोर्टमा निम्न कुराहरु देखिएका थिए-

  • कोरोना संक्रमित बिरामीहरुमा सबैभन्दा धेरै रिपोर्ट गरिएका रोगहरु भनेको मधुमेह, मुटुरोग र फोक्सोका रोगहरु हुन्।
  • कोरोनाको कारणले अस्पतालमा भर्ना भएकामध्ये ७१ प्रतिशतमा कमसेकम एक रोग अगाडिदेखि नै भएको देखिएको छ।
  • कोरोनाको कारणले अस्पतालको आईसीयू भर्ना भएका मध्ये ७८ प्रतिशतमा कमसेकम एक रोग अगाडिदेखि नै भएको देखिएको छ ।

कोरोनाका बिरामीहरुमा मृत्युको जोखिम बढाउने अर्को महत्वपूर्ण कुरा भनेको मोटोपन हो। क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा पब्लिस भएको आर्टिकलको अनुसार मोटोपन भएका ६० वर्ष तलका बिरामीहरुमा कोरोना लागेमा हस्पिटलमा भर्ना हुनुपर्ने जोखिम दोब्बर भएर जाने साथै अस्पतालको क्रिटिकल केयरमा राख्नुपर्ने जोखिम पनि बढेर जाने देखिएको छ।

चीनमा कोरोना संक्रमित विरामीमा गरिएको एक अध्ययनमा मोटोपन भएका कोरोना संक्रमित बिरामीमा निमोनिया हुने सम्भावना बढी हुन्छ भनेर उल्लेख गरिएको छ। बैज्ञानिकहरुले कोरोना रोग विश्वभर फैलने क्रम जारी रहने भएकाले चिकित्सकहरुलाई मोटोपन भएको व्यक्तिलाई धेरै ध्यान दिएर उपचार गर्न पनि सल्लाह दिएका छन्।

चीनमै गरिएको अर्को अध्ययनले कोरोनाको कारणले मर्नेहरुमा ८८.७ प्रतिशत देखाइएको छ । मोटोपन भएता पनि कोरोनाबाट नमर्नेमा १८.९५ प्रतिशत देखाइएको छ ।

दीर्घरोग र मोटोपन भएका व्यक्तिहरुमा मृत्युदर बढी हुनुका वैज्ञानिक कारणहरु

कोरोना लाग्दा बिरामीको मृत्यु कसरी हुन्छ ? कोरोना लाग्दा बिरामीको शरीरमा रोगसँग लड्ने प्रणालीको सक्रियता बढ्छ, जसका कारण शरीरमा साइटोकाइनहरु पनि बढ्छन्। जब यी साइटोकाइनहरु धेरै बढ्छन्र, यसलाई साइटोकाइन स्टोर्म भनिन्छ। साइटोकाइनहरु बढेपछि शरीरमा इन्फ्लामेसन बढ्छ। बिशेष गरेर यो इन्फ्लामेसनले फोक्सोको क्षमता र कार्यमा कमी गराइदिन्छ। यसरी फोक्सोले कार्य गर्न नसकेर बिरामीको मृत्यु हुन्छ। शरीरमा इन्फ्लामेसन बढ्नु नै कोरोनाबाट मृत्यु हुनुको प्रमुख कारण हो।

दीर्घरोगका कारणले गर्दा कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम बढ्नुको मुख्य कारण भनेको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बिग्रनु हो । दीर्घरोग भएकोमा विशेष गरि यो प्रणाली दुई प्रकारले बिग्रन्छ,

एक- रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

दुई– शरीरमा इन्फ्लामेसनको मात्रा बढ्छ।

कोरोना भएर मृत्यु हुने बिरामीहरुमा इन्फ्लामेसनको मात्रा बढी हुन्छ। कोरोना भाइरसको संक्रमण भइसकेपछि फोक्सोमा इन्फ्लामेसनको मात्रा बढ्छ । जसका कारणले गर्दा फोक्सोले राम्ररी अक्सिजन लिने र कार्बनडाइअक्साइड फ्याल्ने काम गर्न सक्दैन र बिरामीको मृत्यु हुन्छ।

यो प्रक्रिया अगाडिदेखि नै इन्फ्लामेसन भएका बिरामीहरुमा तीब्र र बढी हुने गर्दछ। मोटोपन, मधुमेह, मुटुरोग जस्ता सबै दीर्घ रोगहरुमा इन्फ्लामेसन र रोगसँग लड्ने प्रणालीमा गडबडी भएको हुन्छ।

मधुमेहको अर्को असर भनेको रक्तनलीहरुमा क्षति पुर्याउनु पनि हो । जसका कारणले गर्दा फोक्सोको काममा पनि कमी हुन्छ। कोरोनाले पनि फोक्सोमा असर गर्ने भएकाले मधुमेहका बिरामीहरुमा मृत्युको जोखिम अझ बढ्छ।

मुटुका रोगीहरुमा, मुटुको काम गर्ने क्षमतामा कमी हुन्छ। कोरोनाले फोक्सोमा असर गर्दछ, यसले गर्दा मुटुमा अक्सिजनको मात्रा कम पुग्छ र मुटुमा भार बढ्न गई मुटु झन कमजोर हुन्छ। यसरी मुटुमा परेको भारले मुटुमा मात्र नभइ अन्य अंगहरु जस्तैः मिर्गौला, कलेजो र पुनः फोक्सोमा पनि असर गरी मल्टिअर्ग्यान फेलियर पनि हुन सक्छ। मल्टिअर्ग्यान फेलियर पनि कोरोना लागिसकेपछि बिरामीको मृत्यु हुने कारणमा पर्दछ।

मोटोपन, यो एक प्रकारको कुपोषण नै हो । सजिलो तरिकाले बुझ्ने हो भने, कुनै पनि कुपोषण हुँदा शरीरको रोगसँग लड्ने क्षमता बिग्रनुका साथै कमी पनि हुन्छ। बोसो बस्ने कोसलाई एडिपोसाइट भनिन्छ । मोटोपनले यी एडिपोसाइटहरुमा विभिन्न किसिमका परिवर्तनहरु ल्याउँछ र प्रतिरक्षा प्रणालीलाई बिगार्छ। मोटोपनले शरीरमा इन्फ्लामेसन बढाउँछ जसका कारणले कोरोनाबाट हुने स्वास्थ्य समस्या झन बढ्छ।

मोटोपन हुँदा शरीरको प्रतिरक्षा प्रणाली विभिन्न किसिमका मेकानिज्महरुका कारणले गर्दा बिग्रिन्छ। ती हुन्ः-

१- इन्फ्लामेसन गराउने लेप्टिनको मात्रा बढ्छ भने इन्फ्लामेसन घटाउने एडिपोनेक्टिनको मात्रा घट्छ ।

२- शरLरमा नन इस्टेरिफाइड फ्याटी एसिडको मात्रा बढ्छ जसले पनि इन्फ्लामेसन गराइदिने काम गर्छ।

३- पोषक पदार्थको मात्रा बढी हुनाले इन्डोप्लाज्मिक रेटिकुलममा स्ट्रेस बढ्छ।

४- एडिपोज टिस्युमा हाइपोक्जिया हुने कारणले गर्दा इम्युन कोषहरु एक्टिभेट हुन्छ।

सबै मोटोपनमा यस किसिमको जोखिम भने हुँदैन। पेटको गोलाई बढी भएको मोटोपन छ भने यस्तो किसिमको खतरा बढेर जान्छ। शरीरको तौल बढी छ, तर पेटमा धेरै बोसो जमेको छैन भने यस किसिमको जोखिम हुँदैन।

प्राय दीर्घ रोग हुनेमा मोटोपन अगाडिदेखि नै भएको पाइन्छ। मोटोपन नै दीर्घरोगको प्रमुख कारण हो। दीर्घरोग र मोटोपन दुबै एकै व्यक्तिमा भएमा कोरोनाबाट मृत्यु हुन सक्ने सम्भावना अझ बढेर जान्छ। अर्को महत्वपूर्ण कुरा भनेको दीर्घरोगी र मोटोपन भएको व्यत्तिहरुमा भ्याक्सिन लगाउँदा पनि रोगसँग लड्ने एन्टिबडी शरीरले स्वस्थ व्यक्तिको तुलनामा कम निकाल्छ।

अहिले त कोरोनाको भ्याक्सिन बनेको छैन् । तर, बनेर लगाइहालेमा पनि अरु स्वस्थ मानिसको जस्तै यस्ता व्यक्तिहरु रोगसँग लड्न सक्दैनन्।

बच्चाहरु कोरोनाका कारणले त्यति मृत्यु भएको पाइएको छैन। थाहा भएकै कुरा हो, उमेर बड्दै जाँदा कोरोनाबाट मृत्यु हुन सक्ने सम्भावना पनि बढ्दै जान्छ। यस कुरामा पनि के बुझ्न जरुरी छ भने, उमेर बढी भएका मानिसहरुमा दीर्घ रोग, जस्तै- मधुमेह, मुटु रोगहरु बढी हुन्छन्। रोगसँग लड्ने क्षमताको कमीले भन्दा पनि मोटोपन र दीर्घ रोगहरुले रोगसँग लड्ने क्षमतामा पुर्याएको क्षतिका कारणले गर्दा कोरोना लागेका ज्येष्ठ नागरिकहरुमा मृत्यु हुने जोखिम बढी हुन्छ।

साइटोकाइन स्टोर्म बच्चाहरुमा नहुने कारणले इन्फ्लामेसन कम हुन्छ । तर, ज्येष्ठ नागरिकहरुमा बढी हुने हुँदा इन्फ्लामेसनको कारणले मृत्युको जोखिम बढी हुन्छ।

कोरोनाको त्रास संसारभरि नै छ। कोरोना ढिलोचाँडो एक दिन हराएर जान्छ, चाहे त्यो भ्याक्सिन बनेर होस् कि औषधि बनेर होस् । अथवा हर्ड इम्युनिटीबाट होस। तर, यस्तो किसिमको सरुवा रोग वर्षैपिच्छे संसारमा आइरहन्छन । चाहे त्यो सार्स होस् वा इबोला। संसारभर वा संसारका कुनै देशमा भएका केही महामारीहरु, २०१२ – मर्स, २०१३- इबोला, २०१३-२०१५– चिकेनगुनिया, २०१५- इन्फ्लुएन्जा ए भाइरस, २०१५-२०१६ – जिका भाइरस, २०१७ – सिजनल इन्फ्लुइन्जा, २०१८ – निपा भाइरस, २०१८ – इबोला र २०१९- कोरोना (कोभिड-१९)। प्रायः सबै महामारीमा दीर्घ रोग र मोटोपन भएका मानिसहरु चाहीँ सधै जोखिममा हुन्छन्।

अहिले संसारभरि नै सबैभन्दा धेरै मानिसहरुको मृत्यु हुने कारण भनेको दीर्घरोग नै हो। कोरोनाका कारणले दिनमा कति मानिसहरुको मृत्यु भैरहेको छ, प्रायः सबैलाई जानकारी हुन्छ । तर, तथ्यांक हेर्ने हो भने कोरोनाकोबाट मृत्यु हुने संख्या दीर्घरोगहरुको तुलनामा नगन्य छ।