घर जान पाउँ भन्दै दाङमा भारतीय मजदुरहरु आन्दोलनमा उत्रिए

६ जेष्ठ ,घोराही ।  दाङका विभिन्न इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। लामो समयको लकडाउनका कारण घर जान नपाएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।

कोरोना भाइरसका कारण इँटा उद्योग बन्द भएपछी मजदुरहरु काम विहिन भएका छन्। आफुहरु घर जान चाहेको तर स्थानीय प्रशासनले जान अनुमति नदिएको उनीहरुको गुनासो छ।

मंगलबार विहान आन्दोलनमा उत्रिए भारतीय मजदुरहरुले ‘मोदी सरकार, हमे घर ले जाओ’ लेखिएको कार्ड  बोकेर इटा उद्योगमै नारावाजी गरेका थिए । लकडाउनका कारण दाङमा इँटा उद्योग बन्द हुँदा ठुलो संख्यामा रहेका भारतीय मजदुरहरुमा खाद्य संकट पनि हुन थालेको उनीहरु बताउँछन्।

‘काम नभएपछि साउजीले रासन दिनै छाड्नुभयो अब के खाएर बस्नु’, भारतको रुपैडिहा निवासी एक मजदुर गुनासो गर्दै भने,  ‘अब त बर्खा पनि लाग्न थाल्यो काम पनि हुँदैन यहाँ के गरेर बस्नु।’

भारतले आफ्ना नागरिक फिर्ता लैजान कुनै चासो नदेखाएको दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले बताउनुभयो । ‘हामी लामो समय सम्म काम विहिन मजदुरलाइ पाल्न सक्दैनौं’,  अध्यक्ष वलीले भन्नुभयो ‘स्थानीय जनप्रतिनिधि र भारतीय दुतावासलाई अनुरोध गर्दा समेत कसैले चासो दिएनन।’

दाङबाट यसअघि भारत पठाईएका मजदुरहरु विभिन्न कारण भन्दै नेपालगंजबाट दाङ नै फिर्ता पठाईएको थियो।

Source link