डिजिटल नेपाल भ्रम कि वास्तविकता ?

  • अस्मिता प्रधान

अलार्म बजेसँगै बिहानी सुरु हुन्छ । उठ्ने बित्तिकै सामाजिक सञ्जालका फीड स्क्रोल गर्‍यो । फोनमा नोटिफिकेसनको बाढी आउन थाल्छ अनि त्यसैमा अल्झ्यो । मेरो दैनिक समयतालिका प्रायः सधैं यसैगरी सुरु हुन्छ ।

देशभर एक करोडभन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरु छन् । सबैजना आ-आफ्नो फोनमा झुण्डिएको देखिनु कुनै नाैलो विषय होइन । ईमेल, फोनकल अनि निरन्तरको म्यासेजिङ च्याट । फोन स्वीच अफ हुने भन्ने कुरा दुर्लभ नै हुन्छ ।

निश्चय पनि वितेको दशकमा मोबाइल प्रविधिमा व्यापक परिवर्तन आएको छ । इन्टरनेट युगको उदयसँगै हाम्रो परम्परागत बानी व्यहोरा पनि ‘डिजिटल’ रुपमा परिवर्तन भएको छ ।

हामी जहाँसुकै गए पनि मानिसहरु डिजिटलमा जाने कुरा गरिरहेका भेटिन्छन् । वास्तवमा यसको अर्थ के हो ? के हामीसँग स्मार्टफोन हुनु नै डिजिटलमा गएको मान्नुपर्ने हो ?

यसको कुनै ठोस परिभाषा त छैन । व्यवसायका लागि यसले सिर्जना गर्ने मूल्य तथा अवसर अनि प्राविधिक सक्षमताका कुराहरुको विषय अर्थपूर्ण नै हुन्छ ।

सामाजिक सञ्जालको आगमनसँगै डिजिटल रुपमा सम्पर्कमा रहनु आजको विश्वको आवश्यकता हो । सरकार र निजी क्षेत्र दुवै हाई स्पीड कनेक्टिभिटीतर्फ अग्रसर भइरहेका छन् । सेवाग्राहीलाई अनलाइनमार्फत सेवा प्रदान गर्ने होड चलिरहेकै छ ।

डिजिटल नेपालको रुपमा सरकारले एक किसिमको अग्रसरता देखाएको छ । जसले प्रविधिको प्रयोग गरेर सामाजिक आर्थिक समृद्धिलाई सबल बनाउनेछ । डिजिटल नेपालको फ्रेमवर्कभित्र आठवटा क्षेत्रलाई समेट्ने कुरा पनि तय भइसकेको छ ।

डेटा रिपोर्टलले जनवरी २०२० मा सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपालमा इन्टरनेट पहुँच ३५ प्रतिशत रहेको देखिन्छ । अर्को तर्फ नेपाल दूरसञ्चार प्राधिकरणको जनवरीकै रिपोर्टले इन्टरनेट पहुँच ७१.६ प्रतिशत पुगेको देखाउँछ ।

तथ्यांङ्क संस्था अनुसार फरक छ । तर विगत पाँच वर्ष अघिको तुलनामा पछिल्लो समय इन्टरनेट पहुँच विस्तार भएको कुरामा भने दुईमत छैन ।

हाम्रो सगरमाथा आधार शिविरको तिब्बती क्षेत्रमा फाइभजी इन्टरनेटको पहुँच पुगिसकेको छ । अन्तत: हामी पनि देशभर फोरजी सेवा विस्तार गर्ने अभियानमा छाैं ।

सेवाग्राहीको निरन्तरको गुनासो बीच इन्टरनेट सेवाको गुणस्तरको विषयमा नियामकले सक्रियता देखाइरहेकै छ । तर इन्टरनेट सेवाप्रदायकले हाम्रो माग पूर्ति गर्न नसक्दा ब्राउजिङमा निकै समय लाग्ने समस्या उस्तै छ ।

विदेशमा बसिरहेका युवाहरु माग र आवश्यकता अनुसारको डिजिटल संस्कृतिमा सरिक हुँदै आफ्नो अनलाइनको जीवनशैलीमा अग्रसर भइरहेका छन् ।

यस अघिका दिनहरुमा विद्यालयले निभाएको भुमिका जस्तै मानिसहरुलाई जोड्ने, सिकाउने र समुदायमा संलग्न गराउने कार्यमा अहिले डिजिटल सीपले शक्तिशाली भूमिका निर्वाह गरिरहेको छ ।

डिजिटल साक्षरताले नैतिक र सामाजिक अभ्यासभित्रका व्यापक विषयलाई समेट्छ । याे सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विषय हो । अरु विषयका पाठ्यक्रम जस्तै यसको प्रयोग गर्ने सीप पनि समान रुपमा उत्तिकै महत्वपूर्ण विषय हो ।

हाम्रो मुलुकमा अहिले समग्र साक्षरता दर ६५ प्रतिशत र डिजिटल साक्षरताको दर ३१ प्रतिशत छ । यो अहिले सुरुवाती चरणमा छ र ठूलो जनसंख्यामाझ पुग्न अझैं समय लाग्ने निश्चित छ ।

दूर्भाग्य नै भन्नुपर्छ आज हामी अनलाइन कक्षाका लागि समेत संघर्ष गरिरहेका छाैं । यो सुविधा सबैमाझ पुग्न सकिरहेको छैन ।

शिक्षाले हामीलाई कोभिड-१९ अर्थात कोरोनाभाइरससँग  लडिरहँदाको समय पर्खिन सक्ला ? हाम्रो वास्तविकता थाहा पाउन यति कुरा मात्रै पनि पर्याप्त छैन र ?

डिजिटल नेपालको हाम्रो लक्ष्य प्राप्त गर्न अहिलेसम्म हामीले जग बसाउने कार्यको रुपमा के गर्न सक्यौं ? २०१८ देखि डिजिटल नेपालको फ्रेमवर्कभित्र रहेका डिजिटल आधार र शिक्षा काठमाडाैं उपत्यकाका लागि मात्र नभएर सिंगो देशकै लागि हुन् ।

यो फ्रेमवर्कको अर्को हिस्साको रुपमा रहेको डिजिटल अर्थतन्त्रको अवस्था पनि उस्तै छ । त्यसको केही उदाहरणको रुपमा ईकमर्श, ई-विजनेस, मिडिया, फाइनाइन्सलाई हेर्न सक्छौं । निःसन्देह प्रविधिले डिजिटल अर्थतन्त्रको गतिलाई तीव्रता दिन मूख्य भुमिका खेलिरहेकै छ ।

यदि वेबसाइट र एप हुनु मात्र डिजिटल युगमा प्रवेश गर्नु मानिन्छ भने हामी इन्टरनेट कनेक्सनदेखि एप डाउनलोडसम्म अग्र स्थानमै छाैं । एकछिन ईकमर्श व्यवसाय, न्युज पोर्टल, पेमेन्ट वालेटको नाम सम्झिनुहोस् त ।

यी सबैले निश्चित स्थानमा मात्रै सेवा दिइरहेका छन् र आफ्नो एपबाट सयाैं नोटिफिकेसन दिएर तपाईंलाई दिक्क बनाउँछन् । भाइबर कम्युनिटीबाट आफ्नो सेवा प्रयोग गर्न आह्वान गर्छन् ।

तर वास्तविकतामा अझै पनि हामी सरसामान खरीदकै लागि संघर्ष गरिरहेका छौं । खरीदका विषयमा हामी बिरलै सन्तुष्ट हुन्छाैं ।

जब हामी प्रविधिको बारेमा कुरा गर्छाैं, तब पक्कै पनि हामी साइबर अपराध र सुरक्षाको कुरालाई बिर्सन सक्दैनाैं । डिजिटल प्रयोगकर्तामाझ यो सधैं पहिलो प्राथमिकतामा हुनुपर्छ ।

चाहे त्यो अनलाइन दूर्व्यवहार होस् वा डेबिट, क्रेडिट कार्ड फ्रड तथा डेटा चोरी नै किन नहोस् ।नेपालको कुरा गर्दा हामीसँग त्यस्ता अपराधको अनुसन्धान गर्न र कारबाही अगाडि बढाउन नेपाल प्रहरी मातहत साइबर ब्युरो स्थापना गरिएको छ ।

तर ब्युरोको पोर्टलमा गुनासो दर्ता गर्न सिकाउने निर्देशिकासम्म राखिएको छैन । न त साइबर अपराधको विषयमा कुनै जानकारी नै छ ।

के हामी यसबारे सिक्दै छाैं ? के यस विषयमा पर्याप्त छलफलहरु गरिरहेका छौं ? कि हामी आफ्नो व्यक्तिगत जीवनको बारेमा आवश्यकताभन्दा बढी छताछुल्ल पार्दैछाैं ? सबै कुरा सकिएपछि वा समस्या जटिल भएपछि मात्र यस्ता विषयमा ख्याल राख्नुपर्छ भन्ने छैन ।

निश्कर्ष

सबै डिजिटल युगमा प्रवेश गर्न चाहन्छन् । तर कसैलाई पनि यसको अर्थ थाहा छैन । सामाजिक सञ्जालको प्लेटफर्ममा पोस्ट गर्न सक्नु वा एप तथा वेबसाइट हुनु मात्र डिजिटलमा प्रवेश गरेको मानक हुन सक्दैन ।

यसको अर्थ निकै व्यापक छ । देशका धेरै त्यस्ता क्षेत्र र उद्योगहरु छन्, जसलाई डिजिटल रुपान्तरणको खाँचो छ ।

यो एउटा प्रक्रिया हो, जहाँ प्रविधिलाई समावेश गराएर हामी हाम्रो प्रक्रिया र उत्पादकत्वमा सुधार ल्याउन सक्छाैं । यस बेलासम्म हामीले जति प्राप्त गरिसक्नुपर्ने हो, त्यस हिसावले हामी निकै पछाडि परिसकेका छौं ।

निरक्षरता, भाषिक अवरोध, सीमित संसाधन, वित्तीय अभाव र दक्ष जनशक्तिको अभाव, अव्यवहारिक कानून र सिस्टम, सुरक्षा र गोपनीयताका मुद्दाहरु अनि राजनीतिक अस्थिरताका  कारण हामी अगाडि जान सकिरहेका छैनौं ।

हाम्रो मुलुकको जनसंख्याको बनोट, कनेक्टिभिटी र अर्थतन्त्रको अवस्था हेर्दा लाग्छ, कागजमा रणनीतिक विधि भए पनि प्रभावकारी समन्वयको अभावले डिजिटल विभेदलाई मेटाउने काम हाम्रो सरकारका लागि ठूलो चुनाैती बनेर खडा हुनेछ ।

क्लाउड कम्प्युटिङ, मोबाइल प्रविधि, डिजिटल भुक्तानी, ई-गभर्नेन्स र सामाजिक सञ्जालहरुमा अवसर भए पनि हामीहरु अझै बैंक, सरकारी कार्यालय, बिलिङ टिकेटिङ काउन्टरमा धाइरहेका छाैं । ता कि यो काम एउटा बटन क्लिक गरेको वा ईमेल पठाएको भरमा पुरा गर्न सक्नुपर्ने हो ।

डिजिटल नेपाल इनिसिएटिभ्सको सफलता वा असफलता केही वर्षमा स्पष्ट हुने नै छ । आशा गराैं नेपाली नागरिकहरुको समृद्धिका लागि सरकारले आफ्नो प्रस्तावनालाई प्रभावकारी रुपमा पुरा गर्नेछ । त्यतिखेर यो विषय भ्रम बढी र वास्तविकता कम सावित नहोस् ।