दाेलखाकाे च्छो–रोल्पामा पर्यटक बढे

असाेज २८,दाेलखा-सामुन्द्रिक सतहबाट ४ हजार ५ सय ५० मिटर उचाइमा रहेको दोलखाको च्छोरोल्पा हिमतालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मध्य वर्षा र जाडोको समयमा पुग्न नसकिने च्छोरोल्पा हिमतालमा यो समय उपयुक्त हुने भएकाले यतिवेला हिमताल हेर्न जानेको संख्या बढ्दै गएको हो ।

गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत पर्ने च्छोरोल्पा हिमताल स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बन्दै आएको छ । पछिल्लो समय मौसमअनुकूल भएका कारण पनि पर्यटकहरूको संख्यामा वृद्धि भएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आयोजना प्रमुख सत्यनारायण शाहले उपयुक्त मौसम र पदमार्गसमेत सहज र सुरक्षित भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा च्छोरोल्पा हिमताल परेको बताए ।

आइतबार च्छोरोल्पा हिमताल पुगेर चरिकोट आइपुगेका लामीडाँडाका एक युवा पदमराज पाठकले च्छोरोल्पा हेर्न जाने पर्यटकहरू बढेको बताए । उनका अनुसार बेदिङ र ना गाउँमा भएका सबैजसो होटेल खचाखच भरिएका छन् । विदेशी पर्यटहरू भने टेन्ट टाँगेर खुला क्षेत्रमा वास बस्ने गरेका छन् ।