नेपालको तरकारी यूएई र कतारमा निर्यात

काठमाडौं,मंसिर १३-संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ। यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको गोरखापत्र अनलाइनले लेखेको छ। नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ।

महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ/सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरे बताउँछन्। झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उनले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको तर मागअनुसार पठाउन नसकेको बताए। साथै भदौदेखि यूएईमा दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भए तापनि उत्पादन कम भएका कारण मागअनुसार पठाउन नसकिएको बताएका छन्।