मासुको भाउ बढाउनेलाई कारबाही गरिने

माघ २२,काठमाडौं – कुखुराको मासुको भाउ अस्वभाविक रुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरेका छन् ।

यसै क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी समेत गरेको छ ।

डेढ महिना अघिसम्म दुई सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ व्यापारीले चार सय २० रुपैयाँ पुर्याएपछि सरोकारवालाको ध्यानाकर्षण भएको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थाल्ने सरकारी निकायका पदाधिकारीहरुले जानकारी दिएका छन् ।