सार्वजनिक यातायातको भाडा प्रतिकिमि २२ रुपैयाँ निर्धारण

डाेल्पा,२० कार्तिक-डोल्पा जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर निर्धारण गरिएको छ । महँगो भाडादरको सर्वसाधारणले विरोध गरेपछि मंगलबार नयाँ भाडादर निर्धारण गरिएको हो । त्रिपुरासुन्दरी नगरपालिकाको पहलमा यातायात व्यवसायीसहित सरोकारवालाको भेलाले नयाँ भाडादर निर्धारण गरेको हो ।

भाडादरको विषयमा छलफल गर्न मंगलबार त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा सर्वपक्षीय भेला भएको थियो । भेलामा नगरप्रमुख ओमबहादुर बुढा, सहायक प्रजिअ लक्ष्मीदेवी शर्मा, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकार, सशस्त्र प्रहरीका नायव उपरीक्षक चेतसिंह थापा, जिल्ला ट्राफिक इन्चार्ज नवराज भट्ट र यातायात व्यवसायीका प्रतिनिधि सहभागी थिए । सर्वपक्षीय छलफलबाट जिल्लाभरिका सडकमा प्रतिकिलोमिटर २२ रुपैयाँ भाडादर कायम गरिएको छ । सर्वसाधारणको पिरमर्कालाई मध्यनजर गरेर यात्रु र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी नयाँ भाडादर निर्धारण गरिएको नगरप्रमुख ओमबहादुर बुढाले बताए ।

१४ किमिको भाडा ३१० कायम
१४ किमि दूरीको त्रिपुराकोट–खदाङ् सडकखण्डमा प्रतिकिमि २२ रुपैयाँका दरले तीन सय १० रुपैयाँ भाडा निर्धारण गरिएको छ । त्यसैगरी, त्रिपुराकोटकै छलगाडदेखि खदाङ्सम्म १३ किमि दूरीको भाडा दुई सय ९० रुपैयाँ कायम गरिएको नगरप्रमुख बुढाले जानकारी दिए ।

यसअघि उक्त सडकखण्डमा यातायात व्यवसायीले मनपरीरूपमा चार सय रुपैयाँभन्दा बढी भाडा उठाउँदै आएका थिए । नयाँ निर्धारण गरिएको भन्दा बढी भाडा उठाएको पाइएमा कडा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज भट्टले बताए ।

त्रिपुराकोट–दुनैको पनि नयाँ भाडा निर्धारण गरिने
त्यसैगरी, त्रिपुराकोट–दुनै खण्डमा पनि यातायात व्यवसायीले मनपरीरूपमा भाडादर उठाउँदै आएको गुनासो बढेकाले बुधबार सदरमुकाम दुनैमा यातायात व्यवसायीसँग छलफल राखिएको छ । छलफलबाट नयाँ भाडादर निर्धारण गर्ने प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

१३ किमि लामो उक्त सडकखण्डमा पनि प्रतिकिमि २२ रुपैयाँका दरले दुई सय ९० रुपैयाँ भाडादर तोक्ने प्रशासनको तयारी छ । अहिले सुँपानीदेखि दुनैसम्म व्यवसायीले पाँचसय रुपैयाँसम्म भाडा उठाउँदै आएका छन् । प्रशासनले महँगो भाडा घटाएपछि सर्वसाधारण खुसी भएका छन् ।

जीप चालकले सिट क्षमताभन्दा धेरै यात्रु राख्ने गरेका छन् । अब एउटा जिपमा पाँच जनाभन्दा धेरै यात्रु बोके कडा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । तोकिएको भाडाभन्दा धेरै भाडा उठाउने र क्षमताभन्दा धेरै यात्रु राखेको पाइए जानकारी गराउने प्रहरीले आग्रह गरेको छ ।