सुन्छहरी गाउँपालिका विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न

८ जेठ, राेल्पा । सुनछहरी गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएकाेछ । गाउँपालिका अध्यक्ष आसबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पबित्रा घर्ती मगर,प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन,सुनछहरी गाउँपालिकाका वडा अध्यक्षहरु,ईलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज मोहम्मद रदिफ अन्सारी,उद्योग वाणिज्य संघ सुनछहरी गाउँपालिका अध्यक्ष रमेश घर्ती मगर ,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट,नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि झने घर्ती,नेपाली काङ्ग्रेसका प्रतिनिधि रेगबहादुर पुन,रोल्पा समाचार साप्ताहिकका समाचारदाता जुनिस कुमार बिष्टलगाएतको उपस्थिति रहेको थियो।

उक्त बैठकले गरेकाे विभिन्न निर्णयहरु

१.कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद व्यवस्थापन समिति २०७७ जेठ ५ गतेको निर्णय लाई कार्यान्वयन गर्ने ।

२.कोरोना भाइरस कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण लाई मध्य नजर राख्दै मिति २०७७ जेठ १ गते गाउँकार्यपालिका बैठक बाट खाध्यन्न तथा निर्माण सामाग्री ढुवानीको लागि तय गरिएको ढुवानी अनुमति संख्या तथा दिन कायम गर्ने गरि समय तालिका बनाई संचालन गर्ने निर्णय भएकोमा तर कतिपय खाध्यन्न निर्माण सामाग्री ढुवानी गर्ने सवारीहरुले आफुखुसी ढुवानी अनुमति बिना ओसारपसार गर्ने गरिएको भन्ने सुनिन आएको हुदा यस्तो क्रियाकलापहरु रोक्नको लागि सुरक्षा निकायलाई अनुरोध गर्ने ।

३.कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरु बाट खाद्यान्न तथा निर्माण सामाग्री आपूर्ति नगर्ने नगराउने तथा उक्त सवारी लाई ढुवानी पास उपलब्ध नगराउने,गाउँपालिकाबाट संचालन रहेका योजना तथा अन्य भुक्तानीको लागि गाउँपालिका अन्तर्गत रहेका बैंकहरुले सुरक्षीत उपाय अपनाउदै सामाजिक दुरी कायम राखी दैनिक कारोबार गर्नको लागि अनुरोध गर्ने त्यो पनि सम्भव नभए एक दिनको फरकमा बैङ्किङ कारोबार संचालन गर्नको लागि अनुरोध गर्ने ।

४.विश्वमा कोरोना भाइरस कहरको कारण मानसिक तथा सामाजिक रुपमा विक्षप्त रहेको वेलामा प्रमाणित नभएका मनोत्रास फैलाउने खालका सामाजिक संजाल मार्फत भ्रामक खबर फैलाउने गतिविधिहरु बढेको सन्दर्भमा यस्तो भ्रामक खबरको पछाडि नलाग्न सुचना सम्प्रेषण गर्ने र यस्तो भ्रामक खबर सम्प्रेषण गर्नेलाई स्थानीय प्रशासन मार्फत कार्वाही गर्ने ।

५.कोरोना भाइरस संक्रमणको अवस्थामा स्थानीय व्यापारीहरुले कालाबजारी गरिरहेको सुनिन आएको हुँदा तत्काल बजार अनुगमन गर्नको लागी गाउँपालिका अनुगमन समिति लाई निर्देशन दिने,बन्दाबन्दीको अवसरमा खोजी शान्ति सामाजिक सद्भाव खल्बलाउने खालका गतिविधिहरु भएको गुनासो आएको हुँदा सुरक्षा निकाय लाई आफ्नो गतिविधिहरु लाई बढाउन अनुरोध गर्ने ।

६.कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि भारत लगाएत तेस्रो मुलुक बाट आउन सक्ने संख्या लाई मध्य नजर राख्दै पहिलो चरणमा बाहिरी गाम,भित्री गाम र स्युरीको लागि सुनछहरी प्राथमिक बिधालय स्युरी, सेरम र जैमाकसला लाई मध्य नजर राख्दै नमुना माध्यमिक बिधालय जैमाकसला र फगाम जेलबाङलाई मध्यनजर राख्दै भुमे थाला जेलबाङमा क्वारेन्टाइन स्थल स्थापना गर्ने सिफारिस गर्ने निर्णय गरिएकाे छ ।

७.क्वारेन्टाइन स्थलमा मदिरा जन्य पदार्थ निषेध गर्नको लागि स्थानीय प्रशासन सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकाय सङग समन्वय गर्ने।दोस्रो चरणमा यदि संख्या थपिदै गयो भने प्रत्येक वडामा एक वटा क्वारेन्टाइन स्थापना गर्ने त्यस्तै कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि कार्ययोजना अनुरुप वडा स्तरमा क्वारेन्टाइन व्यवस्थापन कार्यदल,क्वारेन्टाइन स्वास्थ्य कार्यदल त्यस्तै क्वारेन्टाइन सुरक्षा कार्यदल तथा क्वारेन्टाइन संचार तथा समन्वय कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।