स्याउले धनी बन्दै कर्णाली

जुम्ला,पुस १६ – जुम्ला सिँजाका रामसिंह रावलले आफ्नो बगैंचामा उत्पादित स्याउ आफैं काठमाडौं पुर्‍याउनुभयो। जुम्लाको अर्गानिक स्याउले निकै ठूलो महत्व पायो। फलस्वरूप माग अत्याधिक बढ्यो। उहाँले घरघरमै जुम्ली स्याउ पुर्‍याउनुभयो। ग्राहकको घरसम्म पुग्दा प्रतिकेजी १ सय ५० रूपैयाँ भाउ पाउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘जुम्ली स्याउ नामले मात्र आकर्षक छैन, स्वाद पनि उत्तिकै राम्रो छ। माग पनि बढ्दो छ।’ जुम्लाबाट लगेको सात टन स्याउ उहाँले राम्रो मूल्यमा बेच्नुभयो।जुम्ली स्याउको माग अनुसार पुर्‍याउन नसकिएको किसानको गुनासो छ। कर्णालीमा स्याउ उत्पादन पनि निकै लोभलाग्दो छ। किसानको स्याउप्रतिको माया पनि उस्तै। ‘स्याउ उत्पादन वर्षैपिच्छे बढ्दो छ,’ उहाँले भन्नुभयो, ‘कर्णालीको आर्थिक मेरुदण्ड नै स्याउ हो। स्याउमा लगानी गर्नु आर्थिक रूपमा कर्णालीलाई आत्मनिर्भर बनाउनु हो।’
कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्लामा स्याउ फल्छ। जुम्ला स्याउको स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा कर्णालीको प्रमुख आम्दानीको स्रोत स्याउ भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, ‘यहाँ स्याउको सम्भावना अत्यधिक छ।

कर्णालीमा अर्गानिक स्याउ उत्पादन भएकोले माग पनि बढ्दो छ। कृषि मन्त्रालयले पनि कृषिमा स्याउ प्रवद्र्धनात्मक कार्यमा प्राथमिकता दिएको छ।’
पछिल्लो समयमा बगैंचा काँटछाँट, व्यवस्थापन, मलखाद र सिँचाइ व्यवस्थापनमा किसानले प्राथमिकता दिएका छन्। जुम्लामा यो वर्ष ११ हजार मेट्रिक टन स्याउ उत्पादन भयो। त्यसमध्ये साढे ६ हजार टन जिल्लाबाहिर निर्यात भयो। स्याउ बेचेर जुम्लामा ३० करोड रूपैयाँ भित्रियो। स्याउ खेतीले हरेक वर्ष जुम्लाको आम्दानी बढिरहेको छ। यहाँको १४ हजार बगैंचामध्ये साढे ६ हजार बगैंचाको स्याउ फल्छ। ३४ सय ५० हेक्टरमा लगाएकोमा ११ सय हेक्टरबाट फल मिल्छ।

तत्कालीन कर्णालीका सबै जिल्लामा स्याउ उत्पादन भए पनि जुम्लामा सबैभन्दा धेरै छ। जुम्लाको स्याउ सिजनमा सुर्खेत, नेपालगन्ज, काठमाडौं, बुटवल, पोखरा लगायत ठूला सहर पुग्छ। ‘जुम्लाको आम्दानीको स्रोत स्याउ हो,’ कृषि कार्यालय जुम्लाका प्रमुख देवकोटा भन्नुहुन्छ, ‘यहाँको समृद्धिको आधार स्याउ हो। स्याउमा लगानी अहिलको अपरिहार्यता नै हो।

प्रत्येक वर्ष ५० देखि एक सय हेक्टरसम्म स्याउ क्षेत्रफल थपिँदै गइरहेको छ। अर्गानिक स्याउ भएकोले बिरुवा उत्पादनमा रोगकिराको संक्रमण बढ्नु, रासायनिक विषादी प्रयोग गर्न नमिल्नु, हिउँदमा बगैंचा व्यवस्थापनको सिजनमा सबै तलतिर झर्नुले स्याउ उत्पादनमा केही चुनौती थपिएको छ। तर मौसम अनुकूल भएसम्म स्याउले राम्रै फल दिँदै आएको छ। कच्ची सडकका कारण समयमै बजार पुर्‍याउन नसक्नु, लामो समय स्याउ राख्न शीत भण्डार नहुनुले पनि समस्या भइरहेको किसान बताउँछन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाबाहिर निर्यात हुने कुल स्याउको १० प्रतिशत बाटोको कारण नष्ट हुने गरेको छ। कर्णालीमा स्याउको अनुसन्धान भइरहेको छ। स्याउ प्रशोधन उद्योग स्थापना भएर विभिन्न परिकार बनिरहेका छन् ।

अहिले कर्णालीबाट ‘ए’ र ‘बी’ ग्रेडको स्याउ मात्र बजार पुगेको छ। त्योभन्दा तलको स्याउबाट चाना, जाम, जेली, जुस र मदिरा बन्छ। स्याउबाट बनेका परिकार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको किसान बताउँछन्। जुम्ला कृषि कार्यालयले अझै पाँच हजार स्याउ बगैंचा थप्ने योजना बनाइसकेको छ। त्यसका लागि कृषि प्राविधिक फिल्डमा खटिसकेका छन्। पहिले ढुवानीको एकमात्र विकल्प जहाज मात्र थियो। त्यतिबेला यहाँको स्याउ कुहिन्थ्यो। जहाजबाट लैजाँदा बिग्रन्थ्यो। लामो समय सम्म भण्डारण गर्दा चाउरी पथ्र्यो। मूल्य निकै कम थियो। किसान स्याउ खेतीप्रति निकै निरुत्साहित थिए ।