१३ औं सागको उद्घाटन आज, उद्घाटन समारोह ३ घण्टा १४ मिनेटको

काठमाडौं,मंसिर १५-दक्षिण एसियाका राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ ।

दक्षिण एसियाका राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण नेपालको काठमाडौं, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ ।

यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा १४ मिनेटको उद्घाटन समारोह हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै १३ औं साग सुरु भएको घोषणा गर्नेछिन् ।

दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ । त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ ।

उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ ।

साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं साफ हो । सो संस्करणमा नेपालले स्वर्ण पदक मात्र ३१ वटा हासिल गरेको थियो ।

नेपालले सो समय पदक तालिकामा भारतपछाडि दोस्रो स्थानमा आफूलाई उभ्याएको थियो । पहिलो संस्करणमा नेपालले चार स्वर्ण पदक जितेको थियो ।

आजको गोरखापत्र दैनिकमा प्रजित शाक्यको बाइलाइनमा यो समाचार प्रकाशित छ ।